नेकपा सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल, भोलि फेरि बस्ने

काठमाडौं, १६ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १ बजेबाट बसेको बैठक केहीबेर अघि सकिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘दुई प्रस्तावमा छलफल सुरु भएको छैन । आजबाट सुरु भएको छ’ उनले भने, ‘उहाँहरुको प्रस्तावमाथि छलफल गर्नका लागि भोलि फेरि १ बजे बैठक बस्छ ।’

आजको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको उनले बताए । ‘आजको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राख्नुभयो । अन्य नेताहरुले पनि केही सामान्य धारणा राख्नुभएको छ’ उनले भने ।

पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने सबैको एकमत रहेको उनले बताए । ‘विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवै छलफललाई तिव्रता दिनेछ’, उनले भने, ‘पार्टीमा देखिएको संकट समाधान र पार्टी एकताको रक्षाको गर्नतर्फ बैठक केन्द्रित रह्यो ।’

सुरक्षा थ्रेटको कारणले बैठक पार्टी मुख्यालयबाट बालुवाटार सारिएको चर्चा भइरहे पनि त्यस बिषयमा कुनै जानकारी नभएको उनले प्रष्ट्याए ।

यस्तै मंसिर १८ गते तोकिएको नेकपा स्थायी कमिटीको बैठक पूर्वनिर्धारित समयमै बस्ने उनले बताए । ‘स्थायी कमिटीको बैठकको बिषयमा अहिलेसम्म अर्को निर्णय भइसकेको छैन । पूर्वनिर्धारित समयमै बस्छ’ उनले भने ।

प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए ।

बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवका अवसरमा शुभकामनासहित केक काटेर प्रधानमन्त्री एवं अध्यक्ष ओली, कार्यकारी अध्यक्ष दाहालसहितका नेताहरुले शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.