उपत्यकामा ५३० सहित १३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु
काठमाडौं, १६ मंसिर : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको पीसीआर परीक्षण हुँदा ५०१ महिला र ८०३ पुरुषसहित थप १३०४ जनामा कोराना संक्रमण पुष्टि भएको हो यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।
काठमाडौं उपत्यकामा ५३० जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ संक्रमित थपिएका हुन् । तीनै जिल्ला गरेर २४० महिला र २९० पुरुषमा कोरोना पुष्टि भएको हो ।
काठमाडौंमा मात्रै ६ हजार ८०६ सक्रिय संक्रमित छन् । ३८६ संक्रमितको मृत्यु, ८८ हजार ३०२ कोरोना संक्रमणमुक्त भएका र कुल संक्रमित ८८ हजार ३०२ छन् ।
भक्तपुरमा सक्रिय संक्रमित ६०४ छन् । ७ हजार २९८ कोरोना संक्रमणमुक्त, ९३ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ९९५ छन् ।
त्यसैगरी ललितपुरमा १ हजार ३६१ सक्रिय संक्रमित छन् । ११ हजार ८८४ कोरोना संक्रमणमुक्त, ११४ जनाको मृत्यु र १३ हजार ३५९ जना कुल संक्रमित छन् ।
बितेको २४ घण्टामा थप २०७३ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार पाँच सय ८३ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख ४६ हजार ३३० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
देशभर १६ हजार ६३३ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २१ संक्रममितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १५ सय २९ पुगेको छ ।
