प्रख्यात फुटबलर डियगो अर्मान्डो म्याराडोनाको निधन
काठमाडौं, ११ मंसिर : अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ ।
पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण म्यारोडोनाको निधन भएको बीबीसीले जनाएको छ ।
दुई साता अघि मात्र म्यारोडोना अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।
अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।
म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।
त्यस समय म्यारोडोना टिमका कप्तान रहेका थिए ।
त्यहिँ विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को जित निकाल्दा म्यारोडोना नायक बनेका थिए । उनले दुबै गोल गरेका थिए ।
इंग्ल्यान्डविरुद्ध उनले गरेको पहिलो गोललाई ‘ह्यान्ड अफ गड’ भन्ने गरिन्छ । किनकी उनले हातले गोल गरेका थिए । तर, रेफ्रीके नदेख्दा उक्त गोललाई मान्यता दिइएको थियो ।
अर्जेन्टिनाका लागि म्यारोडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।
उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।
सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।
म्यारोडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।
अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले १९८१ देखि ८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए ।
त्यसपछि उनी बार्सिलोना आएका थिए । उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरेका थिए ।
यस्तै १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले खेलेका थिए । नापोलीका लागि १८८ खेलमा ८१ गोल गरेका थिए ।
नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए । सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए ।
उनले क्लब फुटबलको अन्त्य साम १९९७ मा बोका जुनियर्सबाट गरेका थिए ।
तर, म्यारोडोना करिअरको अन्त्यतिर भने लागूऔषधको दुर्व्यसनमा फसेका थिए । लागूऔषध प्रयोगकै कारण उनी पटक पटक जेल समेत परे । उनी कोकिन सेवन गर्ने गर्थे । सन् १९९१ मा उनले १५ महिनाको प्रतिबन्ध समेत भोगेका थिए ।
म्यारोडोना लागूऔषध दुर्व्यसनबाट मुक्त हुनका लागि क्युवाको रिह्याब सेन्टरमा समेत बसेका थिए ।
क्युवामा ४ वर्ष रहदा क्युवाली राष्ट्रपति फिडेल क्यास्ट्रोसँग निकै नजिक भएका थिए । उनलाई क्युवामा निकै सम्मान दिईएको थियो ।
म्याराडोलाई पेलेको श्रद्धाञ्जली: हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ
विश्व फुटबलका एक उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भयो । म्याराडोना र ब्राजिलियन पेले विश्व पुटबलको सर्वकालीन महान खेलाडी हुन् ।
यी दुई खेलाडी आफ्नो समयमा विश्वकै सर्वश्रेष्ठ खेलाडी थिए । मैदानमा जति राइभलरी भए पनि यी दुईबीच मैत्री भाव थियो र सम्मान पनि थियो ।
आफ्ना समकक्षी लेजेण्ड खेलाडीको निधनमा पेलेले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
‘निश्चय नै एकदिन हामी दुवै सँगै आकाशमा बल खेल्नेछौं, डिएगो । तिमीजस्तो साथी गुमाउनु निकै दु:खदायी क्षण हो,’ पेलेले भनेका छन् ।
पेलेले आफ्नो प्रतिनिधिमार्फत रोएटर्सलाई आफ्नो स्टेटमेन्ट दिएका हुन्। पेलेले सन् १९५८,१९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जितेक थिए र उनी यस्तो उपलब्धि हात पार्ने एक्ला खेलाडी हुन् ।
अर्कोतर्फ म्याराडोनाले आफ्नै कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । दुवै खेलाडीले चर्चित रंगशाला एस्टाडियो अज्टेकामा उपाधि उचालेका थिए ।
म्याराडोनाको निधनप्रति विश्व खेलकुद जगतदेखि अन्य क्षेत्रका विभिन्न व्यक्तिहरुले श्रद्धान्जली व्यक्त गरेका छन् ।
