सूर्योदय लघुवित्त लगातार ४ वर्षसम्म उत्कृष्ट करदाता
पोखरा, ८ मंसिर : आन्तरिक राजस्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने स्याङ्जा र कास्कीका आव २०७५/७६ मा कर तिर्ने करदाता मध्ये उत्कृष्ट करदातालाई सम्मान गरेको छ । ९ औं राष्ट्रिय कर सप्ताह कार्यक्रम समापनको अवसरमा सम्मान गरेको हो ।
स्याङ्जा जिल्ला भित्रका कारदाताहरुमा सबैभन्दा धेरै आयकर तिर्ने स्याङ्जाको सूर्योदय लघुवित्त वित्तिय संस्था लि आव २०७५/७६ मा पनि उत्कृष्ट करदाता भइ लगातार चौथो पटक धेरै कर तिर्ने करदाता भएको छ । आव २०७५/७६ मा कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएको छ । त्यसैगरी कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी नायव सुब्बा चित्रा ढकाल रेग्मीलाई पनि नगद सहित सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखरा प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले सम्मानितहरुलाइ दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
गण्डकी प्रदेशका प्रमुख सचिव नेपालले कर सप्ताहको महत्व र नेपालमा कर प्रणालीको इतिहाँसको बारेमा बोल्दै विस्तारै कर प्रशासन प्रविधिमैत्री बन्दै गएको बताए ।
प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले सप्ताह अन्तर्गत कर सम्बन्धी ब्रोसर वितरण, पृथ्वीनाराण क्याम्पसका प्राध्यापक, विद्यार्थीसंग भर्चुअल बैठक, लेखनाथ उद्योग वाणिज्य संघसंग करको विषयमा अन्तक्रिया, आन्तरिक राजश्व कार्यालयमा पोखरा चेम्बर अफ कमर्सका पदाधिकारीसंग छलफल र अन्तर कर्मचारी व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको जानकारी दिए ।
सूर्योदय लघुवित्त वित्तीय संस्थाका सञ्चालक गुडाखर सापकोटा र टेम्पल ट्रि रिसोर्टको तर्फबाट सञ्चालक वसन्त गौतमले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे । उनीहरुले करको दर भन्दा पनि दायरा बढाउनुपर्ने, कर करले होइन रहरले तिर्ने वातावरण बनाइनुपर्ने बताए ।
