दिल्लीमा मास्क नलगाई हिड्नेलाई २ हजार जरिवाना

भारतको नयाँ दिल्लीस्थित नजीजी सुभाष मार्ग चाँदनी चोकमा रहेको लाल किलामा पर्यटकहरुको भीड । तस्वीर: चन्द्रकला क्षेत्री

नयाँदिल्ली, ४ मंसिर : भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्याएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । “दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,” मुख्यमन्त्री केजरीवालले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे ।  धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे । कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् ।

बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सबै पार्टीहरु सहमत भएको पनि बताए । “सबै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उनीहरु सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.