आइसीयु र भेन्टिलेटरमा उपचाररत कोभिड-१९ संक्रमित संख्या ३५४
काठमाडौं, १ मंसिर : मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३५४ जना संक्रमितलाई सघन कक्षमा राखी उपचार भइरहेको छ । आइसियुमा ३१० र भेन्टिलेटरमा ४४ जना उपचारत छन् ।
आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्यो भन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास कक्ष अर्थात भेन्टिलेटरमा राखेर उपचार गरिन्छ ।
गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । जसअनुसार ९२ जना आइसियुमा, भेन्टिलेटरमा २५ र होम आइसोलेसनमा १८ हजार ३ सय ७७ जना रहेका छन् ।
लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा दुई हजार २०३ जना छन् । आइसियुमा ६४ र भेन्टिलेटरमा चार जना छन् । प्रदेश १ को होम आइसोलेसनमा तीन हजार ६८५, आइसियुमा ४६ र भेन्टिलेटरमा ११ संक्रमित छन् ।
गण्डकी प्रदेशको होम आइसोलेसनमा एक हजार ९६७,आइसियुमा ७८ र भेन्टिलेटरमा २ जना छन् । प्रदेश २ मा १५ संक्रमित आइसियुमा र भेन्टिलेटरमा दुई जना उपचाररत छन् । होम आइसोलेसनमा ७६८ संक्रमित छन् ।
कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २५८ पुगेको छ । आइसियुमा १० जना उपचाररत छन् । त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या एक हजार १०२ र आइसियुमा पाँच जना संक्रमित उपचाररत छन् ।
