सुख र समृद्धिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, १ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।
भाइटीका र नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताए ।
उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजीका रुपमा अंकित रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीको तिहारको शुभकामना सन्देश
तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ । यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी-भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु । यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पुर्याएको । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।
यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।
अन्त्यमा, तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
नेपाल सम्बत् नयाँ बर्षकाे शुभकामना सन्देश
नेपाल सम्बत् ११४१ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ । नेपाल सम्बत् ११४१ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्न चाहन्छु ।
बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ । यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित छन् । एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं । हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।
यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्बत् लगायत पर्व मनाउन म विशेष आह्वान गर्दछु ।
अन्त्यमा, नेपाल सम्बत् ११४१ का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
