तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा
काठमाडौं, १ मंसिर : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । भाइटीकाको टीका आज दिनभर लगाउन सकिने नेपाल पचांग निर्णायक समितिले जनाएको छ ।
साइत खोज्नेका लागि भने मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ। शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरिन्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्धन पर्वत मानेर पूजा गरिएको छ । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्धन पर्वतको पूजा गर्ने गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्धन पूजा परेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले आजै गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
आज बिहान प्रतिपदा तिथि हुँदै गोवद्धन पूजा गर्न समितिले आह्वान गरेको थियो । त्यसपछि भाइटीकाको तयारी थालिएको छ। यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भाइटीका लगाउन सरकारले अनुरोध गर्दै आएको छ ।
तिहारका बेला देउसी भैलो खेलेर रमाइलो गर्ने प्रचन रहेपनि कोरोना महामारीका कारण समूहमा हुने सबै गतिविधि रोक लगाइएको छ । कोरोनाकै कारण यस वर्ष सबे चाडवाड प्रभावित भएका छन् । मेलाहरू स्थगित गरिएको छ ।
मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
मंसिर २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।
मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथी रहेकाले नेवार समुदायका केही व्यक्तिहरुले मंगलबार भाइटीका मनाउने भनी निर्णय गरेका छन् । त्यसैले सरकारले मंसिर २ गते पनि देशभर सार्वजनिक बिदा दिएको छ ।
भाइटीका लगाउँदा कुन दिशा फर्किने ?
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ ।
त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ ।
अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् ।
