लोडसेडिङ हुन्छ भनेर चिन्ता नलिनुहोस् : कार्यकारी निर्देशक शाक्य
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एल डिसी) को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएका शाक्यले यस्तो बताएका हुन् ।
‘लक्ष्मी पूजाका दिन वर्षभरिको सबैभन्दा बढी विद्युत खपत हुने र त्यो समयमा विद्युत माग पनि अत्याधिक हुने भएकाले त्यसको व्यवस्थापनका लागि भार प्रेषण केन्द्रको कन्ट्रोल रुममै रहेर हाम्रो टीम व्यवस्थापनमा खट्यो,’ शाक्यले भने, ‘हामीले पीक आवरमा बढीमा ११ सय ५० मेगावाट सम्म विद्युत खपत हुने अपेक्षा गरेका थियौँ । तर, करिब ११ सयको वरिपरी मात्रै खपत भयो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गुनासो आएन, सबैले झिलिमिली बत्ती बाल्ने वातावरण निर्माण भयो,हामी खुसी छौँ ।’
अघिल्लो वर्ष पीक आवरमा ११ सय २८ मेगावाट विद्युत माग भएको भन्दै त्यसैको आधारमा बढीमा ११ सय ५० मेगावाट सम्म खपत हुने अपेक्षा गरेको उनले बताए । ‘लक्ष्मी पूजाको साँझ पीक आवरमा ११ सय २८ मेगावाट विद्युत माग भएको थियो, हामीले त्यसैलाई आधार मानेर ११ सय १० देखि ५० सम्मको अपेक्षासहित थप २०० मेगावाट रिजर्भमा राखेका थियौं,’ उनलेभ भने ।
मुलुकभरका स्टेशन प्रमुखसँग सम्पर्क गरी लक्ष्मी पूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनबारे उनले जानकारी लिएका थिए । उनले पाटनको सवस्टेसनमा आफैँ पुगी अनुगमन गरेका थिए। सबै कारणले लक्ष्मी पूजाका दिन लोडसेडिङ हुन्न भन्नेमा ढुक्क रहेको उनले प्रस्ट पारे ।
आगामी दिनमा पनि अब लोडसेडिङको समस्या नहुने उनको दाबी छ। प्राविधिक कारणले फिडर र ट्रान्सफर्मरमा भएको समस्यालाई तत्काल समाधान गर्न सकिने बाहेक अरु समस्या नहुने उनले बताए ।
प्राधिकरणले ‘नो लाइट’ टीमलाई तयारी अवस्थामा राखेको छ। टीम तत्काल परिचालन गरी समस्या समाधान गर्न अब आफ्नो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने उनले सुनाए ।
राष्ट्रिय विद्युत् प्रसारणलाइन (ट्रान्समिसनलाइन) निर्माण पनि प्राथमिकतामा रहेको बताउँदै उनले आफूले पाएको जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रुपमा समेत ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेको चुनौति भनेकै गुणस्तर बढाउने हो,’ उनले भने, ‘केही समय हामीले अझै व्यवस्थापनका लागि दुःख गर्नुपर्छ, त्यसपछि विस्तारै हामी विद्युतमा आत्मनिर्भर हुन्छौँ ।’

काठमाडौं, ३०