राष्ट्रपति ट्रम्पको समर्थनमा वासिङ्टन डिसीमा विशाल प्रदर्शन

वासिङ्टन डिसी, ३० कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ ।

राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका हुन् ।

डिसीमा ट्रम्पका समर्थक चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको बिना प्रमाणित आरोपको पक्षमा सडकमा ओर्लिएका हुन् । झण्डासहित आएका प्रदर्शनकारीहरूमा दक्षिणपन्थी समूह प्राउड बोइजसहितको सहभागिता थियो ।

केही प्रदर्शनकारीले हेलमेट तथा बुलेट प्रुफ भेस्टसमेत लगाएका थिए । उता गल्फ कोर्स जानका लागि निस्किएका ट्रम्पको सवारी पनि समर्थकहरूले केहीबेर घेरेका थिए ।

प्रदर्शनकारीहरूले मेक अमेरिका ग्रेट अगेन लगायत चोरी रोक्नुपर्ने आशयका प्लेकार्ड तथा ब्यानर बोकेका थिए । यही नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन् ।

बाइडेन परम्परागत रुपमा रिपब्लिकनहरुको पकड रहँदै आएका जर्जिया र एरिजोनासहितका राज्यमा पनि जित हासिल गर्न सफल भएका छन् । हार स्वीकार नगरेका ट्रम्पले अझै जित्ने दाबी सहितका ट्वीट गर्दै आएका छन् ।

औपचारिक मत परिणाम भने डिसेम्बर १४ मा घोषणा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.