सकियो नेकपा सचिवालय बैठक, अर्को बैठक मंसिर ३ गते बस्ने

काठमाडौं, २८ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा नेकपाका बहुमत सचिवालय सदस्यहरुले बैठकका लागि बुझाएको पत्र, त्यसपछि प्रधानमन्त्रीले बहुमत सचिवालय सदस्यलाई पठाएको पत्र र ती सबैलाई समेटेर अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो ।

अध्यक्ष दाहालसहित नेताहरुले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख सँगको भेटवार्ता, कोरोना महामारी नियन्त्रण र आर्थिक संकट, पार्टीभित्रको बैठक निर्णय कार्यान्वयन, पार्टी नेतृत्वको र सरकारको प्रभावकारिताबारे छलफल गर्नुपर्ने भन्दै सचिवालय बस्नुपर्ने बताउँदै आएका थिए ।

यी सबै अध्ययन गरेर मंसिर ३ गते अर्को बैठक बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी गराए । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बहुमत सचिवालय सदस्यले केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग गर्ने तयारी यसअघि गरिसकेका थिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता भए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन्  । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ हुने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीर: चन्द्रकला क्षेत्री

“बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन सक्दैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.