पुस्तकमा कर हटाउने निर्णयको विरोधमा मुद्रण व्यवसायीद्वारा देशभर प्रदर्शन

काठमाडौं, २८ कात्तिक : मुद्रण व्यावसायीहरूले पुस्तक आयातमा लगाएको कर हटाउने निर्णयको विरोध गरेका छन् । यो निर्णयको विरोधमा नेपाल मुद्रण उद्योग महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको थियो । नेपाली प्रकाशकहरूले विदेशमा पुस्तक प्रकाशन गरेर ल्याउँदा लाग्ने अतिरिक्त भन्सार शुल्क भने यथावत राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मुद्रण उद्योग महासंघका महासचिव युवराज श्रेष्ठ भन्सार शुल्क हटाउँदा स्वदेशी मुद्रण उद्योग प्रवर्द्धनमा असर पर्ने बताउँछन् । स्वदेशी मुद्रण उद्योगका लागि आवश्यक कागज लगायतका कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट सहित २८ प्रतिशत कर बुझाउँदा विदेशी प्रकाशनसँग प्रकाशन गर्न नसकिने उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, ‘अतिरिक्त भन्सार शुल्क हटाउने निर्णयले हामीलाई विस्थापित त गर्छन् नै, पुस्तक आयातकर्ताहरू करको दायरामा पनि आउँदैनन् ।’

नेपाल मुद्रण उद्योग महासंघको आयोजनामा काठमाडौं मुद्रण उद्योग संघ, नेपाल मुद्रण उद्योग संघ, ललितपुर मुद्रण उद्योग संघ, भक्तपुर मुद्रण उद्योग संघ र नेपाल मसलन्द सामाग्री तथा स्टेशनरी महासंघको सहभागितामा आज विहान ८ बजेदेखि ९ बजेसम्म माईतिघर मण्डलामा विरोध कार्यक्रम गरेका छन् ।

उक्त विरोध कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम, नेपाल बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल गोपाल श्रेष्ठ, मुद्रण उद्योग महासंघका केन्द्रीय सदस्य पी.वी. पोखरेल, पूर्व केन्द्रीय सदस्य गणेश खनाल लगायतका वक्ताले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो भने काठमाडौं मुद्रण उद्योग संघका अध्यक्ष घननारायण श्रेष्ठ (घनश्याम) ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यसैगरी बुटबल लगायतको शहरमा मुद्रण व्यवसायीहले प्रर्दशन गरेका छन् ।

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बक्तव्यमार्फत विदेशबाट छपाई गरी आयात गरिने पुस्तक लगायत छपाई सामाग्रीमा १०% भन्सार महसुल लगाउने गरि गरिएको व्यवस्थालाई हालका अर्थमन्त्री विष्णु पौडेल नियुक्ती हुने बित्तिकै नेपाली मुद्रण उद्योगलाई धरासायी हुने गरी उक्त १०% भन्सार महसुल मन्त्री परिषद्को बैठकको निर्णयले खारेज गरेको साथै स्वदेशमा मुद्रणकालागि आयात हुने कागज लगायतका कच्चा पदार्थहरुमा भन्सार महसुल १५% र भ्याट १३% गरी २८% कर लाग्ने व्यवस्था गरेको भन्दै विरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.