हिमाली जिल्ला जुम्लामा हाइअल्टिच्यूट फूटसल

जुम्ला, २७ कात्तिक : कर्णालीको हिमाली जिल्ला जुम्लामा कर्णाली प्रदेशकै दोस्रो तथा ठुलो हाइअल्टिच्यूट फूटसल निर्माण गरिएको छ । जुम्लाको सदरमुकाम खलङ्गा समुन्द्र सतहदेखि दुई हजार ३७५ मिटर उचाईमा रहेको छ ।

यहाँका तीनजना व्यक्तिको निजी लगानीमा फूटसल निर्माण गरिएको हो। चन्दननाथ नगरपालिका–५ कालेखोलीमा ९५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फूटसलको बुधबार औपचारिक उद्घाटन गरिएको छ । अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष उपेन्द्रमान सिंह, २४ नम्बर बाहिनीका बाहिनीपति यामबहादुर सापकोटा र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाललगायतको उपस्थितिमा फूटसल उद्घाटन गरिएको हो ।

जुम्लाका स्थानीय नीर्पराज भारती, प्रमोद शाही र प्रकाश शाहीको ९५ लाख रुपैयाँ संयुक्त लगानीमा फूटसल निर्माण गरि सञ्चालनमा ल्याइएको हो । फूटसल सञ्चालक प्रकाश शाहीले भने, ‘दुई वर्ष पहिलेको पूर्वतयारी अनुसार फूटसल निर्माण गरेका हौँ ।’ उनले जुम्लालाई खेलकूद हबका रुपमा विकास गर्ने योजना सहित फूटसल सञ्चालन ल्याइएको बताए । ११ महिना लगाएर ९५ लाख रुपैयाँ लागतमा सबै सामग्री बाहिरबाट निर्यात गरेर जुम्लालाई खेल क्षेत्रमा चिनाउने उद्देश्यले फूटसल निर्माण गरिएको उनको भनाई छ ।

प्रतिघण्टा १५ सय रुपैयाँका दरले खेल सञ्चालन गरिनेछ । तत्कालका लागि व्यवसायिक रुपमा सञ्चालन नभए पनि ढिलो/चाँडो खेल क्षेत्र सबैका लागि अपरिहार्य हुने सञ्‍चालकहरूले विश्वास व्यक्त गरेका छन्‌ ।

कार्यक्रममा २४ नम्बर बाहिनीका बाहिनीपति यमबहादुर सापकोटा, गणपति दिवाकर रायमाझी, चन्दननाथ नगरपालिकाका नगर उपप्रमुख अप्सरादेवी न्यौपाने महत, अखिल नेपाल फुटबल संघ जुम्लाका अध्यक्ष यमबहादुर सापकोटा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बरमबहादुर महतलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष लामालाई सम्मान 

यसैगरी जिल्ला खेलकुद विकास समिति जुम्लाले अध्यक्ष लामा, उपाध्यक्ष सिहं र पूर्व राष्ट्रिय खेलाडी थापालाई मायाको चिनो र सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठलगायतका अतिथिहरुले सम्मानसहित  जुम्लाको चन्दननाथ मन्दिर सहित अंकित मायाको चिनो प्रदान गरिएको छ । यसैगरी कार्यक्रममा बोल्दै लामाले अब जुम्लालाई फुटबलको कोच तुरुन्तै नियुक्ति गरिने बताए ।

उनले कोचले भने हरेक दिनको अनलाईन रिपोर्टिङ गर्नुपर्ने  जनाए । उनले खेलकुदलाई विकास गर्न सबैको सहकार्य आवश्यक भएको भन्दै स्थानीय सरकारको समेत सहयोग हुनुपर्ने बताए । कार्यक्रम सञ्चालन जिल्ला खेलकुद विकास समितका प्रमुख बरमबहादुर महतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.