जीर्ण राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै
सल्यान, २७ कात्तिक : राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ ।गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ ।
यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताए । “जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै मात्रामा रहन्छ”, उनले भने । सडक मर्मतको नाममा करोडौँ रकम विनियोजन गरिए पनि सडकको अवस्था बिग्रँदै गएको उनको भनाइ छ । सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उनको दुखेसो छ ।
अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिए ।
विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । विसं २०६३ मा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै विसं २०७५ मा राम्रीमा स्कूलबस दुर्घटना हुँदा २२ भन्दा बढीको मृत्यु भएको थियो । राप्ती लोकमार्गअन्तर्गत अमेलियाबाट रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । यसमा दाङ क्षेत्रमा सडकको अवस्था सन्तोषजनक नै भए पनि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ ।
सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यालयका प्रमुख नीरज शाक्यले ठेक्का व्यवस्थापनको काम भइरहेको र दुई प्याकेजमा काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । उनले चोरखोलाबाट शीतलपाटीसम्म र शीतलपाटीबाट मुसीकोटसम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिए ।
“शीतलपाटी–मुसीकोट खण्डमा कामको थालनी भएको छ, चोरखोलाबाट शीतलपाटीसम्मका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ, डबल कटिङसहित सडकको स्तरवृद्धि गरिनेछ”, उनले भने । उनका अनुसार चोरखोला–शीतलपाटीका लागि रु १५ करोड विनियोजन भएको छ भने शीतलपाटी–मुसीकोटको काम रु चार करोड ९५ लाखमा शुरु गरिएको छ । चोरखोला–शीतलपाटी सडकको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउँदै बहुवर्षीय आयोजनाअन्तर्गत काम गरिने उनले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जीर्ण बन्दै गएको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँले अबको केही समयमा नै ठेक्का प्रक्रिया शुरु गरेर कामको थालनी गरिने जानकारी दिनुभयो । यसका लागि बजेट सुनिश्चित भइसकेको उनको भनाइ छ ।
“कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने मुख्य मार्गका रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि विगतदेखि नै पहल गर्दै आएको छु, आर्थिक वर्ष २०७५÷७६ मा सल्यान–दाङको सिमानाबाट सल्यानतर्फको सडकको स्तरोन्नति गर्न दुई प्याकेजका लागि करिब रु ९६ करोड सुनिश्चित भएको थियो, तर एउटा बोलपत्र भएर पनि रद्द भयो, अर्को बोलपत्र नै हुन सकेन”, उनले भने ।
गत वर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुवर्षीय ठेक्कामा लैजानका लागि बजेट कम भएकाले समस्या भएको उनको भनाइ छ । मन्त्री ज्वालाले यस वर्ष बजेट सुनिश्चित भएकाले बहुवर्षीय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनका लागि सडक डिभिजन कार्यालयले बोलपत्र आह्वान गर्ने बताए ।
