प्रधानमन्त्रीलाई भेटेपछि प्रचण्डसहितका ५ नेताको बैठक धुम्बाराहीमा सुरु
काठमाडौं, २५ कात्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।
यसअघिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि ओलीले बैठक नबोलाएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न सचिवालयका ५ नेताको बैठक पुनः बसेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय धुम्बाराहीमा पुगेका छन् ।
सचिवालयको बहुमत सदस्यसँग छलफलका लागि अध्यक्ष दाहाल धुमबाराहीमा पुगेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि धुमबाराहीमा बैठकमा आइपुग्नुभएको छ । केके विषयमा छलफल भयो, यहाँको बैठकपछि जानकारी होला’, उनले भने ।
यसअघि पनि शुक्रबार र शनिबार धुम्बाराही बैठक बसेपछि प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिन माग गरेका थिए। तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म पनि सहमति दिएका छैनन् ।
बैठकमा प्रचण्डसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् । बैठकअघि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
