साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेले

काठमाडौं, २४ कात्तिक : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेको हो ।

सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो ।

खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

तर, लिभरपुलले आफ्नो अग्रता धेरै बेर टिकाउन सकेन ।

खेलको ३१ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले केभिन डी ब्रुएनको पासलाई सदुपयोग गरे ।

त्यसपछि खेलको ४२ औं मिनेटमा सिटीले अग्रता बनाउने मौका पाएको थियो । तर, सिटीका ब्रुएनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

लिभरपुलका जोसेप गोमेजले पेनाल्टी बक्सभित्र हातले बल रोकेपछि सिटीले पेनाल्टी पाएको थियो । जसमा ब्रुएन असफल भए । उनको प्रहारले पोस्टको दिशा लिन नसक्दा सिटी अग्रता बनाउन बन्चित बनेको थियो ।

घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११ औं स्थानमा रहेको छ ।

बराबरीसँगै लिभरपुलले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

Image

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.