कोलकातासँग पराजित हुँदै राजस्थान प्ले अफ होडबाट बाहिरियो

काठमाडौं, १७ कात्तिक : राजस्थान रोयल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।

दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए ।

श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए । वरुण चक्रवर्ती र शिबम माभीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै राहुल त्रिपाठीले ३९ रन जोड्दा सुबमन गिलले ३६ रन बनाए । आन्द्रे रसेलले २५ रन बनाउँदा पाट कुमिन्सले १५ रन बनाए ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर, श्रेयस गोपालले १/१ विकेट लिए ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । र, कोलकाताले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

कोलकाता तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । तर, कोलकाताको प्ले अफ यात्रा भने अरुको खेलमा निर्भर हुनेछ ।

अब मंगलबार हुने लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई पराजित गरेमा कोलकाता प्ले अफ पुग्नेछ ।

यदी हैदराबादले जितेमा नेट रन रेटको आधारमा प्ले अफ पुग्ने टोलीको तय हुनेछ ।

यस्तै सोमबार हुने रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीचको खेलले समेत यस समीकरणका लागि महत्वपूर्ण रहनेछ ।

राजस्थानले भने १४ खेलमा १२ अंक जोडेर सिजनको अन्त्य गरेको छ । पुछारमा रहेको राजस्थान आईपीएलबाट बाहिरिने तेस्रो टिम बनेको छ ।

यस अघि चेन्नई सुपर किङ्स र किङ्स इलाभेन पन्जाब प्ले अफ होडबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.