चेन्नईसँग पराजित हुँदै पन्जाब प्ले अफ होडबाट बाहिरियो

काठमाडौं, १७ कात्तिक : किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।

आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।

पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए ।

पन्जाबका क्रिस जोर्डनले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

पन्जाबका लागि दिपक होडाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै पन्जाबको इनिङ्स उकासेका थिए ।

यस्तै कप्तान केएल राहुलले २९ रन जोड्दा मयांक अग्रवाल २६ रनमा आउट भए ।

मन्दिप सिंहले १४ तथा क्रिस गेलले १२ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

चेन्नईसँग पराजित भएसँगै पन्जाब आईपीएलबाट बाहिरिने दोस्रो टिम बनेको छ ।

पन्जाबले १४ खेलमा १२ अंक जोड्यो ।  पन्जाब पाँचौं स्थानमा रहेको छ ।

चेन्नई भने यस अघि नै बाहिरिसकेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको चेन्नईले पनि १४ खेलमा १२ अंक जोडेको छ ।

तर, चेन्नईले जितसँगै सिजनको सुखद अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.