आईपीएल : मुम्बई र हैदराबादको शानदार जित

काठमाडौं, १६ कात्तिक : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सविरुद्ध सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले मुम्बईलाई जितका लागि दिएको १११ रनको सामान्य लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै १११ रन बनायो ।

मुम्बईका लागि इशन किशनले अर्धशतकीय पारी खेले । ७२ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाउन सफल भए । त्यस्तै क्विन्टन डीककले २६ रन बनाउँदा सुर्यकुमार यादवले १२ रनको योगदान गरे ।

दिल्लीविरुद्ध मुम्बईको शानदार जित 

बलिङतर्फ दिल्लीका लागि आन्रिच नोर्टजले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो । दिल्लीका लागि शेयस औरले सर्वाधिक २५ रनको योगदान गरे ।

त्यस्तै रिशव पन्तले २१ रन बनाउँदा रविचन्द्र आश्विन र कगिसो रवाडाले समान १२–१२ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट र जस्प्रित भुम्राहाले समान तीन–तीन विकेट लिए । त्यस्तै नाथन कोट्रेल र राहुल चहारले समान एक–एक विकेट हात पारे ।

आजको खेलमा जित निकाल्दै मुम्बईले आफूलाई शीर्ष स्थानमा कायम गरेको छ । यता पराजित दिल्लीलाई भने अघिल्लो चरणमा केही धक्का लागेको छ ।

यसैगरी सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

सारजाह क्रिकेट मैदानमा बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस पाण्डेले २६ रन जोडे ।

यस्तै जासन होल्डरले अविजित २६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए । वासिंगटन सुन्दर र नाभदिप शैनीले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

बैंगलोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन जोडे । यस्तै एबी डी भिलियर्सले २४ रन जोड्दा वासिंगटन सुन्दरले २१ रन बनाए ।

गुर्किरात सिंहले अविजित १६ रन बनाए । कप्तान विराट कोहली ७ रनमा आउट हुँदा देबदुत पडिकलले पनि ५ रन मात्र बनाउन सके ।

हैदराबादका सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए । यस्तै राशिद खान,शबाज नदीम र टि नटराजनले १/१ विकेट लिए ।

जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले १३ खेलमा १२ अंक जोडेको छ ।

यस्तै हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ । हैदराबादले अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग खेल्नेछ ।

मुम्बईले भने क्वालिफायरमा स्थान पक्का गरिसकेको छ ।

यो हारसँगै बैंगलोरलाई पनि प्ले अफ पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

बैंगलोरले १३ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

बैंगलोरले अन्तिम खेलमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.