ओली-प्रचण्ड संवादहीनता तोडियो, बालुवाटार पुगे प्रचण्ड
काठमाडौं, १५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता जारी छ ।
प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटाले ओली-प्रचण्डको भेटवार्ताको पुष्टि गरेका हुन् । ओली-प्रचण्डबीच पछिल्लो ११ दिनयता भेटघाट हुन सकेको थिएन ।
कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो । कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन् ।
यसअघि दूरी बढेपछि अध्यक्ष दाहाललाई छलफलका लागि आग्रह गर्न ओलीले आफू निकटका नेताहरूलाई दिनहुँ खुमलटार पठाउने गरेको थिए ।
शुक्रबार प्रधानमन्त्री ओलीले आफू निकटका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डसँग भेट्न पठाएका थिए । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार, अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रचण्डसँग बुधबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।
