बाँकेमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर

राँझा, १३ कात्तिक : बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ । उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए ।

बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भइसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् ।

जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.