सिजनको पहिलो ‘एल क्लासिको’मा रियल विजयी
काठमाडौं, ९ कात्तिक : स्पेनिस ला लिगा फुटबलको बहुचर्चित एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ ।
क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार राती भएको खेलमा पाहुना टोली रियलको जितका लागि फेडेरिको भलभार्डे, सर्जिओ रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका लागि युवा खेलाडी अन्सु फातीले एक गोल फर्काएका थिए ।
खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।
खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोस चुकेनन् ।
त्यसपछि खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।
रियलको यो चौंथो जित हो । जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १३ अंक जोडेको छ ।
बार्सिलोनाको भने यो दोस्रो हार हो । ५ खेलमा ७ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा रहेको छ ।
