रोमाञ्चक सुपर ओभरमा पन्जाब र कोलकाताको जित
काठमाडौं, ३ कात्तिक : किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।
मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।
त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो । जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।
सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए । दिपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए ।
मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहरको नाममा २ विकेट रहयो ।
जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।
पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
पन्जाबको यो तेस्रो जित हो । पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
सुपर ओभरको खेलमा कोलकाताको जित
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्सले जित दर्ता गरेको छ ।
शनिबार भएको खेलमा कोलकाताले सनराइजर्स हैदारावादलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा लकि फग्यूसनले दुई विकेट लिँदा हैदरावादले मात्र दुई रन बनायो ।
दुई रनको लक्ष्य लिएर मैदान आएको कोलकाताले चार बलमा तीन रन पूरा गर्न सफल भयो ।
यसअघि शेख जियाद क्रिकेट स्टेडियममा कोलकात्ताले जितका लागि दिएको १६४ रनको लक्ष्य पछएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । हैदरावादका लागि डेविड वार्नरले सर्वाधिक ४७ रनको योगदान गरे । त्यस्तै जोनी बेइरेष्टोले ३६ रनबानाउँदा केन विलियनसनले २९ रनको योगदान गरे ।
बलिङतर्फ कोलकात्ताका लागि लकि फग्यूसनले सर्वाधिक तीन विकेट लिए । त्यस्तै प्याट कमिन्स, शिभम् मावी र भरुन चक्रवर्तीले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।
कोलकात्ताका लागि सुभम गिलले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै कप्तान आइन मोर्गानले ३४ रन बनाउँदा नितिस राना र दिनेश कार्तिकले समान २९–२९ रनको योगदान गरे ।
बलिङतर्फ थनगर्सु नटराजनले दुई विकेट लिए । त्यस्तै विजय संकर, बर्सिल थाम्पी र राशिद खानले समान एक-एक विकेट लिए ।
