कोरोना संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्यो
काठमाडौं, २ कात्तिक : कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।
कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो ।
अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ ।
तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
यसअघि सरकारले कोरोना संक्रमितको नि:शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो ।
आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ ।
‘विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार नि:शुल्क गरिनेछ,’ प्रवक्ता गौतमले भने, ‘तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिनेछ ।’
‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।
उनले कोरोनाको उपचारका लागि रेन्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि भएको प्रवक्ता गौतमले बताए ।
