स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना पराजित

काठमाडौं, २ कात्तिक : स्पेनिस ला लिगा फुटबलमा सविकको विजेता रियल मड्रिड पराजित भएको छ । शनिबार भएको खेलमा रियल काडिचसँग १–० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा रियलले काडिचसँग पहिलो पटक पराजित हुनु परेको हो । ला लिगा इतिहासमा रियल घरेलु मैदानमा काडिचसँग हालसम्म पराजित भएको थिएन ।

काडिचलाई जित दिलाउन एन्थोनी लोजानेले निर्णायक गोल गरे । उनले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोलले नै काडिचलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेल्यो ।

जितसँगै काडिच तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा ६ खेल खेलेको काडिच १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित रियल ५ खेलबाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

गेटाफेसंग बार्सिलोना स्तब्ध

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ ।

शनिबार राति बार्सिलोना गेटाफेसंग १–० ले स्तब्ध बनेको हो ।

गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।

बार्सिलोनाका फ्रेन्की डी जोङले डिबक्सभित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो ।

बार्सिलोनाका लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोलको अवसरहरु गुमाएका थिए ।

शनिबार राति शीर्ष स्थानको रियल मड्रिड पराजित बनेको खेलमा बार्सिलोनाले समेत हार ब्यहोरेको हो ।

दुवै टिमले आगामी शनिबार सिजनको पहिलो एल क्लासिकोमा प्रतिस्पर्धा गर्दैछन् ।

सन् २००३ को अप्रिलपछि पहिलो पटक रियल र बार्सिलोना एल क्लासिको अघि पराजित बनेका हुन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको गेटाफले शीर्ष स्थानको रियल मड्रिड बराबर १० अंक जोडेको छ ।

काडिज र ग्रानाडाले समेत समान १० अंक जोडेका छन् । बार्सिलोना भने ७ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.