लिग वान फुटबलमा पीएसजीको लगातार चौथो जित, नेयमारको दुई गोल

काठमाडौं, १७ असोज : नेयमारको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित दर्ता गरेको हो ।

एलेसेन्ड्रो फलोरेन्जीको गोलमा सातौं मिनेटमा पीएसजीले अग्रता बनाएको थियो ।

३६ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । उनले केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

दोस्रो हाफको दोस्रो मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।

इस्माइल तुरको गोलमार्फत पाहुना टोली एन्जर्सले ५२ औं मिनेटमा खेल ३–१ को स्थितीमा ल्याएको थियो ।

५७ औं मिनेटमा जुलियर ड्रेक्सलरले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाउने काम गरे ।

इदरिसा गनाले ७१ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पीएसजीलाई ५–१ को अवस्थामा पुर्याएका थिए ।

खेल सकिन ६ मिनेट अघि केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ६–१ को फराकिलो जित दिलाए ।

पीएसजीले लिगमा लगातार ४ खेलमा जित निकालेको हो । सिजनको सुरुवातमा दुई खेलमा पराजित बन्दै पीएसजीले लिगको खराब सुरुवात गरेको थियो ।

नेयमार दुई खेलको प्रतिबन्ध पुरा गर्दै मैदान फर्किएपछि पहिलो पटक गोल गरेका हुन् ।

लिग लिडर रेनेस ५ खेलमा अपराजित हुँदै १३ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । पीएसजी १२ अंक जोडेर लिगको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.