यती एयरलाइन्सले काठमाडौं-सिमरा उडान गर्ने
काठमाडौं, १६ असोज : यती एयरलाइन्सले १२ वर्षपछि सिमरा पुनः उडान भर्ने भएको छ । सन् २००८ मा काठमाडौं-सिमरा उडान भरेको यती एयरलाइन्सले आगामी असोज २१ देखि पुनः उडान भर्न लागेको हो ।
एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड-१९ को सङ्क्रमणको समयमा उच्च सतर्कता अपनाएर सिमरा उडान गर्न लागेको बताए । “सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौं,” उनले भने । विविध कारणले स्थगित भएको उडान १२ वर्षपछि पुन सञ्चालन गर्न लागेको र उक्त गन्तव्यमा नियमित उडान हुने उनले बताए ।
यतीले सिमरामा जेटईस्ट्रिम-४१ विमानमार्फत प्रत्येक दिन बिहान ९ बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान गर्ने जनाएको छ । प्रमोसनल भाडा काठमाडौं-सिमराको एकतर्फी दुई हजार आठ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
२०५५ सालदेखि हवाई सेवा दिँदै आएको यती एयरलाइन्समा हाल एटीआर-७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम-३० सिटका पाँच र भगिनी संस्था तारा एयरका ट्विनअटर चार गरी १४ विमान सञ्चालनमा छन् ।
