मधेसी समाजमा आत्महत्याको घटना बढ्दै

काठमाडौं, १५ असोज : प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ ।

आर्थिक वर्ष ०७५/७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६/७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७/७८ को साउन र भदौ महिनामा १ सय ५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए । जसमध्ये आत्महत्या गर्न दुरुत्साहन गरेको घटना आर्थिक वर्ष ०७५र७६ मा ४, आर्थिक वर्ष ०७६/७७ मा १३ र चालु आर्थिक वर्षको दुई महिनामा ४ वटा दर्ता भएको उनले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईंका अनुसार पछिल्लो समय मधेसी समाजमा आत्महत्या बढ्दै गएको यथार्थ हो । यसका धेरै कारणमध्ये गरिबी, अशिक्षा, सामाजिक हानिकारक परम्परा प्रमुख हुन् । पञ्चायती प्रथाले पनि आत्महत्याका घटनालाई बल पर्याइरहेको उनको विश्लेषण छ ।

‘देवानी प्रकृतिका सामान्य घटनामा सामाजिक छलफल गरेर सामाधान गर्नुसम्म क्षम्य नै हुन्छ । तर फौजदारी प्रकृतिका घटना पनि पञ्चायतीबाट मिलापत्र गर्ने क्रम नरोकिँदा आत्महत्याका घटनालाई थप बल पुगिरेहेको छ’, उनले भने । पछिल्लो समय यस्ता घटनालाई रोक्न कानुन नै आइसकेको उनले बताए । उनका अनुुसार आर्थिक वर्ष ०७५/७६ देखि भदौसम्म यस प्रदेशमा आत्महत्या दुरुत्साहन गरेका २१ वटा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ (१) मा कसैले कसैलाई पनि आत्महत्या गर्न दुरुत्साहन गर्न वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ । उपदफा २ ले आत्महत्याका लागि दुरुत्साहनको कसुर गर्नेलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यो समाचार मिथिलेश यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.