ला लिगामा एट्लेटिको मड्रिडको सानदान सुरुवात, डेब्युमा सुआरेजको दुई गोल
काठमाडौं, १२ असोज : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा लुईस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरे । त्यस्तै डियगो कोस्टा, एन्जल कोरेरा, जाओ फेलिक्स र मार्कोस लोरेन्टेले एक–एक गोल गरे । उता ग्रानाडाका लागि मोलिन भिडालले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा कोस्टाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप पाँच गोल गरेको हो ।्
खेलको ४७ औँ मिनेटमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ६५ औँ मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकाको अग्रता ३–० पारे । ७२ औँ मिनेटमा लोरेन्टेले एट्लेटिकोका लागि चौथो गोल गरे ।
८५ औँ मिनेटमा सुआरेजले एट्लेटिकोका लागि डेब्यू गोल गरे । यो सिजन मात्र बार्सिलोनाबाट अनुबन्ध भएका उनले पहिलो खेलमा नै गोल गर्न सफल भएका हुन् । ८७ औँ मिनेटमा ग्रानाडाका लागि भिडालले सान्तोना गोल फर्काए ।
खेलको इन्जुरी समायमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई ६–१ गोलको सहज जित दिलाए ।
जितसँगै एट्लेटिकोले सिजनको सुखद सुरुवात गरेको छ । पहिलो खेलमै एट्लेटिकोले ३ अंक जोडेको छ ।
ग्रानडाको यो पहिलो हार हो । ग्रानडाले ३ खेलमा ६ अंक जोडेको छ।
