स्पेनिस लिगमा बार्सिलोनाको उत्कृष्ट सुरुवात
काठमाडौं, १२ असोज : बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिया रियललाई ४-० गोल अन्तरले पराजित गरेको ।
घरेलु मैदनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन अन्सु फातीले दुई गोल गरे । त्यस्तै मेस्सीले एक गोल गरे । एक गोल बार्सिलोनाले आत्मघाती उपहार पाएको थियो ।
खेलको १५औँ मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । १९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ३-० बनाए ।
४५औं मिनेटमा भिया रियलका पाउ टोरेसले आत्मघाती गोल गर्दा बार्सिलोनाले ४-० गोलको सहज जित निकाल्न सफल भयो ।
मेस्सी ला लिगाका फरक १७ सिजनमा गोल गर्ने छैटौ खेलाडी बने । शनिबार मात्र रियल मड्रिडका सर्जियो रामोसले सो सफलता हात पारेका थिए ।
