समयमै उपचार गरे निको हुन्छ क्यान्सर, यी हुन् क्यान्सरका लक्षण

काठमाडौं, १० असोज : नेपालमा क्यान्सरको उपचारका लागि स्वदेशमै जनशक्ति उत्पादन र सेवामा विशिष्टीकरण आवश्यक रहेको औँल्याइएको छ ।

हरेक वर्ष ठूलो सङ्ख्यामा बिरामीहरु उपचारका लागि विदेश जाने गर्दछन् । विदेशिने रकम रोक्न र सस्तोमा सहज उपचारका लागि सेवा विशिष्टीकरण आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेले क्यान्सरका सबैजसो साधारण उपचार यहाँ गरिने भए पनि विशिष्टीकरण गर्न नसकिएको बताए। उनका अनुसार उच्च तहको प्रिसिसन रेडियो थेरापी गर्न सकिएको छैन । रोबटिक सर्जरी र बोनम्यारो प्रत्यारोपणजस्ता सेवा नेपालमा सहज उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

युरोलोजिष्ट (मूत्ररोग विशेषज्ञ) समेत रहेका उनले जनशक्ति उत्पादन सहज हुन नसक्दा समस्या भएको धारणा राखे । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) बाहेक अन्यत्र क्यान्सरका विज्ञ जनशक्ति उत्पादन भएको जनाउँदै उनले यस अस्पताललाई प्राज्ञिक थलो बनाउन सकिने बताए । यहाँ रहेका २२ जनाभन्दा बढी विज्ञ चिकित्सकलाई तालिम दिएर प्राध्यापकका रुपमा काम लिन सकिने जनाइएको छ ।

समयमै क्यान्सरका जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । नर्सिङदेखि डिएमसम्मका क्यान्सरका जनशक्ति उत्पादन गर्न सकेमा उपचारमा सहज हुने छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले यस अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्न सकिने बताए ।

अस्पतालका पूर्वकार्यकारी निर्देशक डा विजयचन्द्र न्यौपानेले अस्पतालमा नर्सिङको पढाइ शुरु भएको जनाउँदै थप शैक्षिक कार्यक्रम ल्याएर नेपालकै नमूना प्रतिष्ठान बनाउन सकिने बताए । यहाँ रहेको पर्याप्त भौतिक पूर्वाधारसँगै जनशक्तिले प्रतिष्ठान सञ्चालन गर्न समस्या नरहेको जनाइएको छ । नेपालका ५० प्रतिशत क्यान्सरका रोगीहरु उपचारका लागि विदेश जाने गरेका छन् ।

विज्ञहरुले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन्  । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । विश्वमा वर्षेनी एक करोड ४० लाख मानिसमा क्यान्सर देखिने गरेको तथ्याङ्क छ । विश्वमा एक वर्षमा ७६ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरकै कारण हुने जनाइएको छ । नेपालमा हरेक वर्ष एक लाखभन्दा बढी क्यान्सर हुने गरेको अनुमान गरिएको छ । असी दशमलव नौ प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बाशयको क्यान्सरका बिरामी धेरै हुने गरेका छन् ।

कार्यकारी निर्देशक डा गौतमले कतिपय क्यान्सरका रोगहरु आफै परीक्षण गर्न सकिने बताए । उनले भने, “आफैँले छामेर वा लक्षणहरु हेरेर क्यान्सर हो÷होइन पत्ता लगाउन सकिन्छ ।” शरीरमा गिर्खा, गाँठागुठी देखिनु, कोठी, मुसाको रङ बदलिनु वा आकार बढ्दै जानु, लामो समयसम्म खोकी निको नहुनु, खाना निल्न गाह्रो हुनु, स्वर परिवर्तन वा धोद्रो हुनु क्यान्सरका लक्षण हुन् । यस्तै खकारमा रगत देखापर्नु वा लामो समयसम्म खोकी निको नहुनु, लामो समयसम्म दिसामा गोटा पर्नु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु पनि क्यान्सरको लक्षण हुन् ।

महिनावारी नभएको बेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाको पुनः रक्तश्राव हुनु वा महिनावारीको समयपछि रक्तश्राव हुनु, स्तनमा गाँठागुठी देखिनु, मुन्टोबाट रगत मिसिएको दूध आउनु वा मुन्टो दबिनु क्यान्सरका लक्षणहरु भएको जनाइएको छ  । यसैगरी छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, नाक, मुख, शरीरका अन्य छिद्रहरुबाट रगत आउनु पनि क्यान्सरका लक्षण भएको निर्देश डा गौतमले जानकारी दिए । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल आउन पनि उनले सुझाव दिए ।

अस्पतालका अध्यक्ष डा लामिछाने मानिसले व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन सकेमा क्यान्सर रोगबाट बच्न सकिने बताए । उनका अनुसार चुरोट, बिडी, खैनी, सूर्ती, जाँड, रक्सी र लागुपदार्थ सेवन नगर्ने, बासी, सडेगलेको र ढुसी परेको खानाहरु नखाने, पोलेर डढेको मासु र अन्य खानेकुरा नखाने गर्दा पनि क्यान्सरबाट बच्न सकिन्छ ।

यसैगरी अखाद्य रङ प्रयोग गरिएका खानेकुराहरु नखान, चिल्लो बोसोयुक्त खानेकुरा र धेरै नुन नखान, आफ्नो गुप्ताङ्ग सधैँ सफा राख्न, मौसमअनुसारको हरियो सागपात, तरकारी र फलफूल दिनहुँ खान उनले सुझाव दिए।  महिलाले आफ्नो गर्भाशय श्राव परीक्षण प्रत्येक वर्ष गर्ने हो भने पनि क्यान्सरबाट बच्न सकिने उनको सुझाव छ ।

यस्तै महिलाहरुले स्तनमा गिर्खा, गाँठागुठी पलाएको छ÷छैन प्रत्येक महिना आफैले राम्ररी छामेर हेर्ने र फेला परेमा स्वास्थ्यकर्मीको परामर्श लिने गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने डा लामिछानेले बताए । अस्पतालका पूर्व कार्यकारी निर्देशक डा आचार्यले रोगका विषयमा जनचेतना जगाउन नसकिएको स्वीकारे।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले क्यान्सर समयमा नै पत्ता लगाएर उपचार गर्ने हो भने क्यान्सर पूर्णरूपमा निको हुने बताए । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लाग्यो भने निको हुने सम्भावना पनि धेरै हुने उनको भनाइ छ ।

क्यान्सरको उपचार संभव छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्‍यो भने उपचार गर्न सकिन्छ । हामीकहाँ त्यस्ता थुप्रै उदाहरण पनि छ, जसले क्यान्सरको सफलतापूर्वक उपचार गराए । यसका लक्षणहरु थाहा पाएपछि तुरुन्तै उपचार गराउनुपर्छ, क्यान्सरबाट बच्न सकिन्छ । अत यहाँ क्यान्सरका लक्षणबारे जानकारी गराइएको छ ।

स्तनमा परिवर्तन

स्तन क्यान्सरले धेरैको ज्यान लिने गरेको छ । अचम्म त के भने, महिला मात्रै होइन, पुरुष पनि यसको चपेटामा पर्छन् ।

यसका धेरै लक्षण हुन्छन् । जस्तै स्तनमा गाँठो, निप्पलको रंगमा परिवर्तन, निप्पल चिलाउने, रेशा, निप्पलभित्र मोडिनु । तर, यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि यिनीहरु स्तन क्यान्सरका पक्का प्रमाण होइनन् । कहिलेकाहीँ हार्मोनको परिवर्तनले वा स्वास्थ्यसम्वन्धि अन्य कारणले पनि यस्तो हुन सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ ।

मूत्र वा मलबाट रगत निस्किनु

पिसाब वा दिसा गर्दा रगत निस्कियो भने तुरुन्त अस्पताल गएर चेकअप गराइहाल्नुपर्छ । किनकी यो किड्नी वा पिसाबको थैलीमा क्यान्सरको संकेत पनि हुन सक्छ । यसका अलावा पाचन वा शौच सम्वन्धी बानीमा स्थायी परिवर्तन आउनु । जस्तै लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा हुनु कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।

अचानक तौल घट्नु

खास अरु कारण बिना नै अचानक धेरै तौल कम भयो भने यो चिन्ताको बिषय हुनसक्छ । यसको अन्य कारण पनि हुन सक्छ, तर अन्नाशय, फोक्सोका वा पेटको क्यान्सरको सम्भावनालाई पनि नकार्न सकिँदैन ।

मुखमा कत्ला आउनु

सामान्यतया दुई हप्तामा कुनै पनि कत्ला ठिक हुन्छ । तर, योभन्दा बढि समय लाग्यो भने चिन्ताको विषय हो । यसको अलावा आवाजमा परिवर्तन, निल्नमा समस्या, मुखभित्र सेतो वा रातो रंगको निसान देखिनु मुखको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ ।

ज्वरो

लामो समयसम्म ज्वरो ठिक भएन भने ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । त्यसो त क्यान्सरबाट पिडित सबैजसो बिरामीलाई ज्वरो आउँछ । यो प्रतिरक्षा प्रणाली कमजोर भएको कारणले गर्दा हो ।

रुँघा

एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न असुविधा भयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई भेट्नु उचित हुन्छ ।

दुखाई

दुखाईका कैयन कारण हुन सक्छन् । तर बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई जारी रह्यो भने यो हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ । यसैगरी लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ । यो सबै क्यान्सर फैलिँदाको पीडा हो ।

थकान

दिनभरको भागदौड र तनावबाट थकान महसुस हुनु सामान्य कुरा हो । तर, बिना कुनै मिहनेत र सही खानपिनका बाबजुद पनि थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ । यसका अलावा कोलोन वा पेटको क्यान्सर भएमा पनि रगतको कमि हुन्छ र अत्यधिक थकानको महसुस हुन्छ ।

रक्तश्राव

मासिक धर्मका अलावा अचानक ब्लिडिङ हुनु कार्विनल क्यान्सरको संकेत हुन सक्छ । यसका अलावा रेक्टम अर्थात् मलद्वारबाट रक्तश्राव -जो कालो दिशाका रुपमा देखिन्छ) कोलोन क्यान्सरको लक्षण हुन सक्छ । यस्तो कुनै किसिमको समस्या छ भने तुरुन्त जाँच गराउनुपर्छ । मासिक धर्मका दौरान पनि सामान्यभन्दा अत्यधिक रक्तश्राव भयो भने चिन्ताको विषय हुन्छ ।

पेट फुल्नु

पेट फुल्नु एउटा सामान्य समस्या हो । खासगरी महिलाहरुमा । यो अक्सर अपच, प्रीमेन्सुरल सिन्ड्रोम वा प्रेग्नेन्सी इत्यादीको कारण हुन्छ । तर, यदि लगातार दुई हप्ताभन्दा बढि समयसम्म पेट फुलिरह्यो र ब्लिडिङ तथा वेट लस पनि भयो भने चिन्ताको विषय हुन्छ । यो ओवेरियन क्यान्सरको संकेत हुन सक्छ ।

अन्डकोषमा बदलाव

पुरुषको अन्डकोषमा गाँठो, सुन्निएको, दुखाई वा कुनै प्रकारको अन्य बदलाव वा समस्या आयो भने तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । किनभने टेस्टिकुलर क्यान्सर अहिले धेरै दु्रत गतिमा फैलिइरहेको छ । डाक्टरका अनुसार १५ देखि ५५ वर्षसम्म उमेरका पुरुषले १-२ महिनामा यसको जाँच गराइरहनु पर्छ ।

पिसाब फेर्न समस्या

बढ्दो उमेरसँगै प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसको कारण पिसाब फेनर्ृ समस्या, लगातार पिसाब आउनुजस्ता समस्या उत्पन्न हुन्छन् । तर, यो प्रोस्टेट क्यान्सरको सुरुवाती संकेत पनि हुन सक्छ ।

निल्नमा समस्या

कहिलेकाहीँ गला सुक्दा वा सुन्निदा खाना खान र पानी पिउन समस्या हुन्छ । सामान्यतया गलामा इन्फेक्सनको कारणले यस्तो हुन्छ । तर कहिलेकाहीँ यो मुख वा गलाको क्यान्सरको कारणले पनि हुन सक्छ । यदि लामो समयसम्म खाना वा पेयपदार्थ निल्न समस्या पर्‍यो भने डाक्टरलाई भेटिहाल्नुस ।

मुसा वा कोठीमा परिवर्तन

कोठी, मुसा आदीको रंग वा आकारमा अचानक परिवर्तन आउनु स्किन क्यान्सरको सूचक हुन सक्छ । यसैगरी छाला कालो वा पहेँलो हुनु, चिलाउनु वा एकदमै छिटो कपाल बढ्नु पनि क्यान्सरको लक्षण हुन सक्छ ।

भोक नलाग्नु

यो ओवरियन क्यान्सरको लक्षण हुन सक्छ । यदि धेरै समयसम्म केही नखाँदा पनि भोक लागेन र पेट हमेशा भरिएको महसुस भइरह्यो भने यो ओवेरियन क्यान्सरको सुरुवाति लक्षण हुन सक्छ ।

नङमा परिवर्तन

अचानक नङमा देखिने परिवर्तन विभिन्न प्रकारका क्यान्सरको संकेत हुन सक्छ । नङमा कालो वा खैरो धब्बाले स्किन क्यान्सरलाई संकेत गर्छ । यसै प्रकारले नङको अन्तिम सिरा ठूलो हुनुले लंग क्यान्सरलाई संकेत गर्छ । सेतो वा पहेँलो नङले पनि लंग क्यान्सरकै खतरा देखाउँछ ।

अनुहार सुन्निने

फोक्सोको क्यान्सरबाट पिडित केही रोगीहरु अनुहार सुन्निएको वा रातो भएको सिकायत गर्छन् । यो यसकारण हुन्छ कि फोक्सोको ट्यूमरका साना सेल्सले छातिका रक्त धमनिहरुलाई ब्लक गरिदिन्छन् जसका कारण अनुहार वा शिरसम्म रक्तप्रवाहमा वाधा आउँछ ।

मुखभित्र वा जिभ्रोमा सेतो दाग

मुखको क्यान्सरको सुरुवाती लक्षण यस्तो हुन्छ । यो धुम्रपान वा सुर्तिको सेवनले गर्दा हुने हो । यस्ता व्यक्तिहरु मुखको क्यान्सरको जोखिममा हुन्छन् । यसैले मुखभित्र यसप्रकारको बदलाव आयो भने तुरुन्त डाक्टरलाई भेट्नुपर्छ ।

अन्य संकेत

माथि उल्लेख गरिएका लक्षणहरुका अलावा पनि यदि तपाईं आफ्नो शरीरमा कुनै पनि प्रकारका असामान्य बदलाव महसुस गर्नुभएको छ र त्यो लामो समय कायम रह्यो भने डाक्टरलाई जाँच हाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.