इन्डियन प्रिमियर लिगमा राजस्थानको विजयी सुरुवात

काठमाडौं, ७ असोज : युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।

राजस्थानले दिएको २ सय १७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

चेन्नईका फाप डु प्लेसिसीले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे ।

कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे ।

राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

राजस्थानको फराकिलो स्कोरमा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले ।

सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए ।

यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे ।

चेन्नईका लागि साम करनले ३ विकेट लिए । यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए ।

जितसँगै राजस्थानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ ।

यसैगरी आज साँझ हुने खेलमा मुम्बई इण्डियन्स र कोलकता नाईट राइडर्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.