आर्सनल र एभरटनको लगातार दोस्रो जित, क्रिस्टल प्यालेससँग युनाइटेड स्तब्ध
काठमाडौं, ४ असोज : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–१ गाेल अन्तरले पराजित गरेको हो ।
अलेक्जेन्ड्रे लाकाजेटको गोलमार्फत २५ औं मिनेटमा आर्सनलले खेलमा अग्रता बनाएको थियो ।
पियरिक इम्रिक अबुमियाङको क्रसलाई सदुपयोग गर्दै लाकाजेटले लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा माइकेल एन्टोनियोले खेल बराबरीमा ल्याएका थिए ।
खेल सकिन ५ मिनेट अघि एडवर्ड निक्केयाले गोल गर्दै आर्सनललाई लगातार दोस्रो जित दिलाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले आर्सनलका लागि विजयी गोल गरेका हुन् । उनी ७७ औं मिनेटमा लाकाजेटको स्थानमा मैदान छिरेका थिए ।
आर्सनलले २ खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लेविनको ह्याट्रिकमा एभरटनको शानदार जित
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा वेस्ट ब्रुमलाई ५-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।
घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभरटनले एक गोलले पछि परेपनि पुनरागमन गरेको हो । वेष्टब्रोमले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।
एभरटनका लागि लेविनले ३१औं ६२औं र ६६औं मिनेटमा गोल गरे । यस्तै जेम्स रोड्रिगेजले ४५औं र माइकल केनले ५४औं मिनेटमा गोल गरे । वेष्टब्रोमका लागि १०औं मिनेटमा ग्यारी डिएङ्गना र ४७औं मिनेटमा म्याथ्युज परेइराले गोल गरे । ४५औं मिनेटमा वेष्टहमका किरण गिब्स रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
लिड्सको पहिलो जित
इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ ।
शनिबार राति भएको खेलमा फुलहमलाई ४-३ गोल अन्तरले पराजित गर्दै लिड्सले पहिलो जित दर्ता गरेको हो ।
१६ वर्षपछि प्रिमियर लिगमा फर्केको लिड्सले घरेलु मैदानमा पहिलो जित हात पारेको हो । लिड्सका लागि हेल्डर कोस्टाले दुई तथा माथेउस क्लिज र प्याट्रिक बामफोर्डले एक एक गोल गरे । यस्तै फुलहमका लागि अलेक्जान्डर मिट्रोभिकले दुई तथा बबी रेडले एक गोल गरे ।
पहिलो खेलमै युनाइटेड पराजित
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।
शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे ।
युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काए ।
क्रिस्टलको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा क्रिस्टलले साउथह्याम्पटनलाई १-० ले हराएको थियो ।
युनाइटेडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदै
प्रिमियर लिगमा आइतबार साविक विजेता लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै टोटेनहमले साउथह्याम्पटन तथा न्युकासलले ब्राइटनसँग खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत नै आइतबार लेष्टर सिटीले बर्नलीसँग खेल्नेछ ।
