संविधान दिवसमा २८९ कैदीलाई जेलमुक्त गर्ने निर्णय

काठमाडौं, २ असोज : संविधान दिवसको अवसरमा देशभरका जेलबाट २ सय ८९ जना कैदीलाई बाँकी सजाय माफी मिनाहा गरेर जेलमुक्त गर्ने निर्णय गरिएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसअनुसार शनिवार (३ असोज) देखि लागु हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी हुन् ।

फौजदारी कसुर–०७४ को (कैद कट्टा) नियमावली–०७६ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट भुक्तान हुन बाँकी कैद मिनाहा गर्ने निर्णय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गर्नुभएको हो ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गर्नुभएको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका कैदीले मात्र माफि मिनाहा पाउँछन् । जेलर र प्रमुख जिल्ला अधिकारीको सिफारिसमा मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र दशैंमा असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरेकालाई माफि मिनाहाको सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.