हालसम्मकै बढी २०२० जनामा कोरोना संक्रमण, ८७१ जना डिस्चार्ज

काठमाडौं, २ असोज : कोरोना भाइरसका थप २०२० संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएका हुन् । एकै दिन २ हजार बढी संक्रमित थपिएकाे पहिलाे पटक हाे ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो ।
काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै मोरङमा ६६ वर्षका २ जना पुरुषको मृत्यु भएको छ । यस्तै नवलपरासी ६६ वर्षिया महिलाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
