पीएसजीको पहिलो जित, नेमारलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं, १ असोज : लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ ।नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जित दर्ता गरेको हो ।

बुधबार राति भएको खेलमा पीएसजीले मेट्जलाई १-० ले हरायो । दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलमा पीएसजीले तीन अंक बटुलेको हो ।

लिगको सुरुवाती दुई खेलमा पीएसजी पराजित बनेको थियो । सन् १९८४–८५ को सिजनपछि पहिलो पटक पीएसजी लिगको सुरुवाती दुई खेलमा हारेको हो ।

खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जित दिलाएका हुन् ।

घरेलु टोली पीएसजीले गोलकिपर किलोर नाभास, डिफेन्डर मार्किन्होस र फरवार्ड मौरो इकार्डीलाई बुधबारको खेलमा स्वागत गरेको थियो । पीएसजीका ७ खेलाडी कोरोना भाईरसको संक्रमण देखिएपछि एकान्तवासमा रहेका थिए ।

पीएसजीका मिडफिल्डर डी मारियाले गोलका केही अवसरहरु सिर्जना गरेपनि मेट्जका गोलकिपर एलेक्जेन्ड्रे ओकिडेजाले निराश बनाएका थिए ।

जितसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।

नेमारलाई दुई खेलको प्रतिबन्ध

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् ।​

मार्सेलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेमारको आरोपको छानबिन गर्ने जनाएको छ ।

गत आइतबार राति भएको खेलमा पिएसजीका तीन र मार्सेलीका दुई गरी पाँच खेलाडीले इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।​ मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा हिर्काएका कारण नेइमारले रातो कार्ड पाएका थिए ।​

नेमारले त्यसपछि आफूमाथि अल्भारोले रंगभेदी टिप्पणी गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत पनि सो आरोप लगाउँदै छानबिनका लागि माग गरेका छन् ।​ अल्भारोले भने नेमारको आरोप अस्वीकार गरेका छन् ।

नेइमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ । पिएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ । यस्तै पिएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.