वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ
काठमाडौं, १ असोज : नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई केहीबेरअघि सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
राष्ट्रियसभा सदस्यको सपथ लिएपछि नेता गौतमले आफूले संसदको गरिमा नघटाउने बताएका छन्। उनले राष्ट्र र जनताप्रति बफादार बनेर काम गर्ने पनि वाचा गरेका छन् । ‘जनता राष्ट्रियताप्रति वफादार हुन्छ’, उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’ नेता गौतमले संसदमा प्रवेश गरेपछि अबको आफ्नो लक्ष्य पार्टी र देशलाई समाजवादतर्फ लैजाने हुने पनि बताए । ‘पार्टीले लिएको समाजवादमा पुग्ने लक्ष्यतर्फ अघि बढ्न भूमिका खेल्छु’, उनले भने ।
वामदेवले सपथ लिने कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल पनि उपस्थित थिए । सपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।
