जापानमा सुगाले लिए प्रधानमन्त्रीको शपथ, अरु को–को भए मन्त्री ?
टोकियो, १ असोज : जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् ।
उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्रमन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका अन्य मन्त्रीहरुलाई यथावत् राखिएको छ ।
मन्त्रिपरिषद्का २० सदस्यमध्ये १५ जना तत्कालीन प्रधानमन्त्री शिन्जो आबेकै मन्त्रिपरिषदका सदस्यहरु रहेका छन् । नयाँ मन्त्रिपरिषदमा न्यायमन्त्री योको कामिकावा र ओलम्पिक र प्यारा ओलम्पिक मन्त्री सेको हाशिमोतो दुई महिला मात्र छन् ।
जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोलाई मन्त्रिपरिषदको मुख्य सचिवको जिम्मेवारी दिइएको छ । जापानमा मुख्य सचिवले नीति समन्वयक र सरकारका शीर्ष प्रवक्ता दुबैको भूमिका खेल्दछन् । यसैबीच, पूर्वप्रधानमन्त्री शिन्जो आबेका कान्छा भाइ एवं पूर्व उपविदेशमन्त्री नोबुओ किशीलाई नवगठित मन्त्रिपरिषदमा रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ ।
पूर्वप्रधानमन्त्री आबेको मन्त्रिपरिषदका सबै सदस्यले बुधबार बिहान सामूहिक राजीनामा दिएका थिए । आबेले पछिल्लो महिना स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गरेका थिए ।
को हुन् सुगा ?
तत्कालीन प्रधानमन्त्री सिन्जो आबे सरकारका मुख्य सचिव र प्रवक्ता समेत हुन् । आबेको राजीनामालगत्तै उनलाई पार्टीकै कतिपय वरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका थिए । सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्किएपछि उनले सुगालाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गरेका थिए । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ ।
मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । उनी प्रायः सरकारको अनुहार पनि थिए । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आबेले सुगालाई नै दिएका थिए ।
वंश राजनीतिको पृष्ठभूमिबाट आएका नेता र पूर्व टेक्नोक्रेटहरूले भरिएको सत्ताधारी पार्टीमा उनी किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता मानिन्छन् । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिरेका थिए ।
जहाँ उनले रात्रिकालीन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो । उनी सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित भएका थिए भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित भएका थिए ।
