मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव
काठमाडौं, १ असोज : बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव गरेको छ ।
एन्फा प्रवक्ता किरण राईले बंगलादेश, मंगोलिया र डोमिनिकबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताए । उनले यसअघि पनि थुप्रै प्रस्ताव आइरहे पनि पछिल्लो एक सातामा यी तीन देशले नेपालमै खेल्न प्रस्ताव गरेको जानकारी दिए ।
कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् ।
“पहिलो कुरा त प्रशिक्षणको हो । हामीले अहिलेसम्म प्रशिक्षण गर्न पाउने अनुमति पाएका छैनौं । पहिला सरकारले प्रशिक्षणको अनुमति देओस्,” एन्फा प्रवक्ता राईले भने, “प्रशिक्षणको अनुमति पाए स्वास्थ्य समाधानका उपाय अपनाएर प्रशिक्षण गराउन तयार छौं । त्यसपछि स्वास्थ्य सुरक्षा अपनाएर मैत्रीपूर्ण खेल पनि गराउन तयार छौं ।”
प्रवक्ता राईले पहिला प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि सहज वातावरण बनाउन आग्रह गरेका छन् । प्रशिक्षण र मैत्रीपूर्ण खेल गर्न वातावरण मिलाइदिन भन्दै बुधबार एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले राखेप सदस्य-सचिव रमेशकुमार सिलवालसँग भेट गरेका थिए । भेटमा सदस्य(सचिव सिलवालले राष्ट्रिय टोलीको प्रशिक्षणका लागि कार्यविधि बनाउन निर्देशन दिएका थिए ।
नेपालसँगै बंगलादेशले पनि फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट खेल खेलिरहेको छ ।
कोरोना महामारीका कारण हाल एसियाली फुटबल महासंघले आफ्ना सम्पूर्ण प्रतियोगिताहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको छ ।
नेपाल फिफा बरियतामा १ सय ७० औं स्थानमा रहेको छ । मंगोलिया १ सय ९० औं र डोमेनिकन रिपब्लिक १ सय ५८ औं स्थानमा छ ।
