विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

काठमाडौँ, ३० भदौ :सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुनुहुन्छ ।

वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।

प्राधिकरणमा कोइराला अर्थ निर्देशनालयका प्रमुख छन् । यसअघि कुलमानले आफू अनुपस्थित हुँदा कोइरालालाई नै निमित्तको जिम्मेवारी दिने गरेका थिए । यसअघिको उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनाउने चर्चा थियो । उनी वरियतामा पनि सबैभन्दा वरिष्ठ थिए ।

निमित्त कार्यकारी निर्देशक बनेका कोइराला १२औं तहका उपकार्यकारी निर्देशक पदमा छन् । उता शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको भूमिकामा छन् ।

गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.