२४ घण्टामा हालसम्मकै धेरै १४५९ संक्रमित थपिए, १०६२ जना डिस्चार्ज

काठमाडौं, ३० भदौ : पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् । पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि ब्यापक बढ्दै गएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ६२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र  होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । आजसम्म ८ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृतकको संख्या ३७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.