प्रिमियर लिगमा चेल्सी र वल्भसको विजयी सुरुवात
काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । सोमबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सी ३–१ गोलले विजयी भएको हो ।
चेल्सीलाई जित दिलाउन जोर्गिन्हो, रीसे जेम्स र कुर्ट जुमाले एक एक गोल गरे । ब्राइटनका लागि लेअन्द्रो ट्रोसर्डले एक गोल फर्काए ।
मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले दुई नयाँ खेलाडी टिमो वार्नर र काइ हाभर्ट्जलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए ।
पहिलो हाफमा अग्रता लिएपनि चेल्सीको प्रर्दशन सुस्त थियो । दोस्रो हाफमा मात्र चेल्सीले लय समाएको देखिन्थ्यो । प्रिमियर लिगको डेब्यु खेलमा वार्नरले प्रभाव जमाएपनि गोल गर्न भने सकेनन् ।
यस्तै, सोमबार भएको खेलमा वल्भ्सले शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गर्यो । वल्भ्स खेलको सुरुवाती दश मिनेटभित्र नै दुई गोल गर्दै त्यसलाई कायम राखेको थियो ।
शेफिल्डको मैदानमा भएको खेलको तेस्रो मिनेटमा रहुल जिमिनेजले गोल गर्दै वल्भसलाई अग्रता दिलाए । छैटौं मिनेटमा रोमन सेइसले गोल गर्दै वल्भसको अग्रता दोब्बर पारेका थिए ।
जितसँगै उल्भ्सले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । उल्भ्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस जिससँगै वल्भ्स र चेल्सीले लिगमा समान तीन अंक जोड्दै लिगको सुरुवात गरेको छ ।
यस्तै, म्यानचेष्टर सिटी र बर्नली तथा म्यानचेष्टर युनाइटेड र एस्टन भिलल्बीचको खेल भने पछि सारिएको छ ।
