जापानमा नयाँ प्रधानमन्त्री योशिहिदे सुगा बन्ने

टोकियो, २९ भदौ : जापानमा हालका मन्त्रीपरिषद्को मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सोमबार उनलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो । यससँगै सुगा नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।

को हुन योशिहिदे सुगा ?

आबेको पहिलो कार्यकाल पछि विश्वाशिलो सल्लाहकारको रूपमा राष्ट्रिय प्रतिष्ठा कमाएका ७१ वर्षीय योशिहिदे सुगा सन् २०१२ मा आबे पुनः सरकारको नेतृत्वमा फर्केपछि उहाँलाई मन्त्रीपरिषद्को मुख्य सचिव नियुक्त गर्नुभएको थियो । जापानमा मन्त्रीपरिषद्को मुख्य सचिवलाई एक शक्तिशाली पद मानिन्छ ।

मुख्य सचिवले सरकारी मन्त्रालयहरू र सत्तापक्षको प्रयासलाई समन्वय गराउने गर्छ । उहाँ प्रायः सरकारको अनुहार पनि हुनुहुन्थ्यो । नियमित पत्रकार भेटमा सरकारको तर्कपूर्ण प्रतिरक्षा गर्न तथा नयाँ सम्राट नारुहितोको आरोहणको चाँजोपाँजो मिलाउने रेवा युगको घोषणा गर्ने कामको नेतृत्व आवेले सुगालाई नै दिनुभएको थियो ।

वंश राजनीतिको पृष्टभूमिबाट आएका नेता र पूर्व टेक्नोक्र्याटहरूले भरिएको सत्ताधारी पार्टीमा उहाँ किसान परिवारबाट आफ्नै बाहुबलले सांसद हुन सफल लोकप्रिय नेता हुनुहुन्छ । सुगाले आफ्नो माध्यमिक विद्यालयस्तरको पढाइपछि टोकियो छिर्नुभएको थियो, जहाँ उहाँले रात्रिकालिन विश्वविद्यालयस्तरको पढाइका लागि सस्तो श्रमको सहायता लिँदै अध्ययन पूरा गर्नुपरेको थियो ।

उहाँ सन् १९८७ मा योकोहामाबाट नगरसभाको सदस्य निर्वाचित बन्नुभएको थियो भने सन् १९९६ मा जापानी संसदको तल्लो सभामा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.