प्रिमियर लिग र स्पेनिस ला लिगाकाे नयाँ सिजन आजबाट
काठमाडौं, भदौ २७ : इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुदैछ ।
कोरोनाले प्रभावित बनेको विश्व फुटबलका बीच प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको हो ।
शनिबार पहिलो दिन चार खेल हुदैछ ।
साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्सलाई एनफिल्डमा स्वागत गर्नेछ । लिभरपुलका जोर्डन हेन्डरसन र जोएल माटिप चोटका कारण खेल्ने÷नखेल्ने अनिश्चित छ । तर दुवै जना प्रशिक्षणमा फर्किएका छन् ।
लिड्स समेत चोटका कारण गैटानो बेर्डी र एडम फोर्शव बिनै मैदान उत्रनेछ ।
लिड्सले नयाँ सिजनका लागि हस्ताक्षर गरेका रोड्रिगो र रोविन कोच अन्तराष्ट्रिय जिम्मेवारी पुरा गरि इङ्ल्याण्ड फर्किएका छन् ।
दुवै खेलाडी फिट छन् र लिड्सबाट डेब्युको प्रतिक्षा गरिरहेका छन् । लिड्सले कीर्तिमानी मुल्यमा रोड्रिगोलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्धन गरेको थियो ।
अन्य खेलमा लण्डन क्लब आर्सनल नवप्रवेशी फुलहमको भ्रमणमा निस्कनेछ भने क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ । दिनको अन्तिम खेलमा न्युक्यासल र वर्नली भिड्नेछन् ।
यसैगरी, स्पेनिस ला लिगा फुटबल अन्तर्गत आजबाट सुरुआत हुन्दैछ । सिजनको पहिलो दिन आज तीन खेल हुनेछन् ।
आज हुने पहिलो खेलमा इबरले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा इबर जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । यता सेल्टा भिगो पनि आजको खेलमा जित निकाल्ने योजनामा छ ।
आज नै हुने दोस्रो खेलमा ग्रानाडाले एथ्लेटिक क्लबसँग खेल्दै सिजनको सुरुआत गर्ने योजनामा छ । अघिल्लो सिजन उत्कृष्ट बिताएको ग्रानाडा यो सिजन झनै उत्कृष्ट बनाउने योजनामा छ । ग्रानाडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०ः४५ मा हुनेछ । शनिबार राति हुने अन्तिम खेलमा यो सिजनमा मात्र शीर्ष डिभिजनमा उकिलिएको काडिजले ओसासुनासँग खेल्नेछ । खेलमा राति १२ः४५ सुरु हुनेछ ।
कोरोनाका कारण अघिल्लो सिजन प्रभावित बनेपछि छोटो विश्रामका साथ प्रिमियर लिग र ला लिगा सञ्चालन गर्न लागिएको हो ।
