राजा गिर्वाणयुद्धको चिनो : रत्नेचौरको ‘बूढोपोखरी’

ध्रुवप्रसाद शर्मा । गलेश्वर, २४ भदौ : साबिकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढोपोखरी’लाई मर्मतसंहार गरेर स्थानीयले चिटिक्क बनाएका छन् ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित यो पोखरी राजा गिर्वाणयुद्धको इतिहाससँग जोडिएको छ । राजा गिर्वाणयुद्धका नीरसुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छामुताविक त्यो पोखरीको निर्माण गरेका स्व. वसन्त बोगटीका सातौं पुस्ताका सन्तति चिरञ्जीवी बोगटीले जानकारी दिए ।

बोगटीले दिएको जानकारीअनुसार त्यतिबेला रत्नेचौरामा पानीको हाहाकार थियो । गाउँमा कतै पनि पानीका स्रोत नभएपछि ढोडेनीबाट पानी बोकेर खाने,सरसफाइ गर्ने र पशु चौपायाँलाई खुवाउने गर्नुपर्दा स्थानीय आजित भएका थिए ।

स्वं वसन्त बोगटीले यो कुरा राजा गिर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरेर स्थानीयले पानीको समस्याबाट मुक्ति पाएका थिए ।

बूढोपोखरीलाई पुरानै स्वरूपमा फर्काउन स्थानीयवासी सक्रिय भएका छन् । विसं १८४० मा निर्माण गरिएको अञ्चलकै पहिलो मानवनिर्मित पोखरी संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको थियो । ठूलो संख्यामा जनशक्ति प्रयोग गरी खानेपानीको पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । अहिले रत्नेचौर ‘कृषि गाउँ’ का रूपमा समेत चर्चित  छ।

करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैँचा विस्तार गर्न ७ रोपनी जग्गा रहेको छ । पोखरीबाट करिब २२ मिटरमाथि ढोरेनी खोलाबाट ल्याइएको पानी पोखरीमा हालेर अहिले पोखरीलाई नयाँ स्वरुपमा मर्मत सम्हार गरिएको छ ।

पोखरीको पानी स्थानीयले प्रयोग गर्ने गरेका छन् । पोखरीबाट नजिकै देखिने धौलागिरि हिमाल सहितका हिमश्रंखला, मनोरम दृष्य र निलो पोखरी अवलोकन गर्ने जाने गरिएपनि विस्तारै पानीको मुहान सुक्नुका साथै पोखरीको संरक्षण नभएपछि पोखरी संकटमा परेको थियो । गत आर्थिक वर्ष पोखरी संरक्षणका लागि बेनी नगरपालिकाबाट ५० हजार र साबिकको जिल्ला भू-संरक्षण कार्यालयबाट ५० हजार रुपैयाँ सहयोग भएको थियो ।

त्यसैगरी स्थानीयले करिब ६० हजारको जनश्रमदान गरी पोखरीलाई मर्मत सम्हार गरेपछि अहिले बूढोपोखरी चिटिक्क परेको र पोखरी हेर्नका लागि टाढाटाढाबाट समेत मानिसहरु आउने गरेका बेनी नगरपालिका १ रत्नेचौरका वडाअध्यक्ष टेकबहादुर रावलले जानकारी दिए । पोखरीको संरक्षण गरेपछि सिँचाइका साथै पर्यटकीय गन्तव्‍यसमेत बनाउने पहल सरु भएको छ । चालू आर्थिक वर्षमा पनि नगरपालिकाले पोखरीको सिंगारपटार र पूर्वाधार निर्माणका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सोही बजेटबाट बाँकी पूर्वाधारका काम गरिने र बूढोपोखरीलाई आकर्षक पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीय लागेका वडाअध्यक्ष रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.