काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, सवारीसाधनमा जोर बिजोर लागु

काठमाडौं, २४ भदौ : काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरिएको छ ।
गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । भदौ ३ गतेदेखि जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय काठमाडौं प्रशासनले गरेको हो ।
बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो । यद्यपि, निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरिएको छ ।
काठमाडौं उपत्यकामा बिहीबारदेखि निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।
यस्तै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा साँझ फेरि ४ बजेपछि पनि सञ्चालन गर्न सकिने छ ।
बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ । ब्यूटी पार्लर र कपाल काट्ने ब्यवसाय पनि खोल्न पाइने छैन । यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत जनाइएको छ ।
उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तबारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने एक अधिकारीले जानकारी दिए ।
निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।
