रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको जित
काठमाडौं, २४ भदौ : क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ ।
मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २-० ले हराएको हो ।
क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो ।
पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो गोलसंगै रोनाल्डोले पोर्चुगलको जर्सीमा सय गोल पुरा गरेका थिए ।
पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले ७२ औं मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे । उनले राष्ट्रिय टिमबाट आफ्नो गोल संख्या १ सय १ पुर्याएका छन् । १९ बर्षको उमेरमा रोनाल्डोले सन् २००४ को युरो कपमा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए ।
जितसँगै समूह सी को पोर्चुगलले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । समान अंक रहेको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पराजित स्विडेन तेस्रो स्थानमा छ ।
उनी राष्ट्रिय टिमबाट सय गोल पुरा गर्ने पहिलो युरोपेली फुटबलर बने । राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईले मात्र रोनाल्डो भन्दा बढी अन्तराष्ट्रिय गोल गरेका छन् । उनले सन् १९९३ देखि २००६ सम्म १ सय ९ अन्तराष्ट्रिय गोल गरेका छन् ।
रोनाल्डोभन्दा पछि भारतका सुनिल क्षेत्री (७२ गोल) र अर्जेन्टिनाका लियोनेल मेस्सी (७०) गोल रहेका छन् ।
