बैंकले कर्जाको ब्याजदर बढाउन नपाउने
काठमाडौं, २३ भदौं : घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ ।
नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्न बैंकहरुलाई निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।
“इजाजतपत्र प्राप्त संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर (फिक्स इन्ट्रेस्ट रेट) निर्धारण गर्नुपर्नेछ,” राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।” तर ऋणीको चाहनामा भने बैंकले आधार ब्याजदरको अनुसार कर्जाको ब्याजदर परिवर्तन गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
स्थिर ब्याजदरको व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका-हुने घर कर्जा, गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका-हुने एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागु हुने केन्द्रीय बैंकले जनाएको छ । ब्याजदर स्थिरता कायम गर्न यो निर्देशनले महत्वपर्ण भूमिका खल्ने नियमन विभागका प्रमुख देवकुमार ढकाल बताउँछन् ।
“अहिले न्युन ब्याजदरमा कर्जा लिनेले एक वर्ष नपुग्दै ब्याज आकासिन्छ, जसले गर्दा अहिलेको आम्दानी र बुझाउनुपर्ने किस्तालाई आधार बनाएर कर्जा लिएकालाई ब्याजदर बढ्दा कर्जा तिर्न नसक्ने अवस्था आउँछ,” उनले भने, “कर्जा लिनेले मेरो किस्ता यति हो भन्ने यकिन हुने र यसले ब्याजदर उतारचढावलाई पनि नियन्त्रण गर्छ ।”
ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले दुखेको गर्ने गरेका थिए । राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ । राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर भने ६/६ महिनामा प्रकाशित गर्न निर्देशन दिएको छ ।
यसअघि प्रवाह भएका मासिक-त्रैमासिक-आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर, गाडी कर्जालगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नसमेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
तर यसरी कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनर्तालिकिकरण वा पुनर्संरचना भने नमानिने केन्द्रीय बैंकले जनाएको छ ।
