कोरोनाबारे भ्रम फैलाएको आरोपमा ‘नक्कली डाक्टर’ पक्राउ

ललितपुर, २२ भदौ : कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्‍न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा महानगरीय अपराध महाशाखाले लिम्बुलाई पक्राउ गरेको हो । उनलाई ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

लिम्बूले केही समययता विभिन्‍न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आएका थिए । साथै उनले केही च्यानलमा आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।

सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी गरेका छन् ।

मुलुकी अपराध संहिता ०७४ को दफा ७० मा झूटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.