अर्थशास्त्रको भर्चुअल कक्षामा पूर्वमन्त्री पढाउँदै

काठमाडौँ, २२ भदौ : त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ ।

विभागका प्रा डा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत शेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसक्नुभएको छ ।

नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्पादक लोकेन्द्र विष्ट , ऊर्जा क्षेत्रको प्रभावबारेमा पूर्वऊर्जामन्त्री जनार्दन शर्मा, राजश्वबारेमा अर्थविद् डा डिल्लीराज खनाल र डा चन्द्रमणि अधिकारीले बहसमा भाग लिनुभएको थियो ।

यस्तै अर्थशास्त्री, स्थानीय सरकारका प्रतिनिधि, नेपाल सरकारका राजश्व सचिव रामशरण पुडासैनी, पूर्वअर्थसचिव रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा / डा.शान्तराज सुवेदी, पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे / गोकर्ण विष्ट सहभागी हुुनुहुन्थ्यो । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनकf केन्द्रीय सचिव प्रा डा दङ्गालका अनुसार त्रिविका शिक्षाध्यक्ष डा शिवलाल भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, त्रिभुवन विश्विद्यालय शिक्षा सङ्कायका डीन र क्याम्पस प्रमुख, प्राध्यापक सङ्घका सभापतिले बहसमा भाग लिइसक्नुभएको छ ।

अहिले शोध अनुसन्धान विधाअन्तर्गत नेपालका मूर्धन्य विज्ञबाट सम्पन्न गर्ने गरी एकहप्ते रिसर्च प्याकेज कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले प्राज्ञिक मन्तव्य दिनुभएको थियो । यसमा स्रोत व्यक्तिका रुपमा प्रा डा चैतन्य मिश्र, प्रा डा मनप्रसाद वाग्ले, प्रा डा वासुदेव काफ्ले, प्रा डा महानन्द चालिसे, प्रा डा शिवराज अधिकारी र प्रा डा ध्र्रुवकुमार गौतम रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.